दाङमा अर्को विमानस्थल चाँडै सञ्चालनमा ल्याउछौं ː सभामुख महरा |
काठमाडौं । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङको नारायणपुरमा अर्को विमानस्थल पनि सञ्चालनमा आउने बताएका छन् । हिजो सोमवारदेखि नियमित उडान थालेको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले नारायणपुरलाई अन्तरराष्ट्रियस्तरको तथा तुलसीपुरको टरिगाउँलाई आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका छन् ।
तुलसीपुर विमानस्थलमा केही समयमै अस्थायी हवाई इन्धन डिपो सञ्चालनमा ल्याइने महराले जानकारी दिएका छन् । यसले विमानस्थल नियमित बनाउन थप मद्दत पुग्नुका साथै भाडामा पनि हेरफेर हुनसक्ने उनको भनाइ थियो । स्थायी इन्धन डिपो स्थापना गर्न आफूले पहल थालिरहेको भन्दै महराले स्थायी भएमा अनियमित हुने समस्याको अन्त्य हुने बताए ।
केही निजी एयरलाइन्सले दाङमा पाइलटको तालीम शुरु गर्ने भनी सरकारसँग प्रस्ताव गरेकाले त्यो पारित भएमा हवाईसेवा नियमित सञ्चालन गर्न सकिने उनले बताए ।
दाङको टरिगाउँ विमानस्थलबाट नियमितरुपमा प्रत्येक हप्ताको सोमवार र शुक्रवार हवाईसेवा सञ्चालनमा आउने छ ।