‘रेमिट्यान्सले अर्थतन्त्रलाई सहयोग पुगे पनि हामीले सामाजिक मूल्य चुकाउनुपरेको छ’ : श्रममन्त्री विष्ट |

काठमाडौं । श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रेमिट्यान्सले देशको अर्थतन्त्रलाई ठूलो सहयोग पुगे पनि नेपालीहरुले सामाजिक मूल्य चुकाउनुपरेको धारणा राखेका छन् । उनले सोमवार राजधानीमा आयोजित ‘र्फक दाई फर्क’ नामक गीतको लोर्कापण गर्दै त्यस्तो बताएका हुन् ।
सो अवसरमा मन्त्री विष्टले भने, ‘रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई ठूलो सहयोग त पुर्याएको छ, तर हाम्रो सामाजिक मूल्य पनि चुक्दै छ ।’ कुनै बेला दक्षिण कोरियाजस्ता नेपालभन्दा गरिब देशहरू पनि छोटो अवधिमै आफ्नो अर्थतन्त्र माथि उकास्न सफल भएको उदाहरण पेश गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित, भरपर्दो र मर्यादित बनाउन सरकार लागिपरेको उनको भनाइ थियो । उनले विदेशमा रहेका नेपालीहरू स्वदेश फर्किदा रोजगारीका अवसर प्रदान गर्न सक्नुपर्ने बताए ।
मन्त्री विष्टले अबको ५ वर्षपछि जीविकोपार्जनकै लागि विदेशिनुपर्ने बाध्यता नरहने दाबी गरेका छन् । उनले भने, ‘५ वर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थालाई अन्त्य गर्न र नेपालभित्रै रोजगारीको अवसर सृजना गर्ने अभियानमा सरकार लागिसकेको छ ।’