बीमा समितिको निर्देशन निर्जीवन र पुनर्बीमा कम्पनीलाई : एनएफआरएसमा वित्तीय विवरण बनाऊ |
काठमाडौं । बीमा समितिले निर्जीवन र पुनर्बीमा कम्पनीलाई एनएफआरएसमा वित्तीय विवरण पेश गर्न निर्देशन दिएको छ । समितिले असोज ११ गते निर्जीवन र पुनर्बीमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै आर्थिक वर्ष २०७४।७५ को वित्तीय विवरण एनएफआरएसअनुसार तयार पार्न निर्देशन दिएको हो ।
समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनीले एनएफआरएसअनुसार वित्तीय विवरण बनाउनुपर्ने बताए । उनका अनुसार बीमा समितिले छिट्टै नै जीवन बीमा कम्पनीहरूलाई पनि एनएफआरएसअनुसार वित्तीय विवरण पेश गर्न निर्देशन दिने तयारी थालेको छ ।
नेपाल राष्ट्र बैंकले भने आव २०७४।७५ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरणसमेत एनएफआरएसमा बनाउन लगाएको थियो । बीमा समितिले भने वार्षिक प्रतिवेदन मात्रै सो प्रणालीमा बनाउन लगाएको हो । एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्दा पुरानो प्रणालीमा भन्दा केही फरक देखिने पनि उनले जानकारी दिए । बीमा कम्पनीको सम्पत्ति, नाफा र विभिन्न कोषमा राखिने रकमको आकार पनि केही घटबढ हुन सक्ने उनले बताए ।