एनसीसी बैंकको हकप्रद भर्ने आज अन्तिम दिन |
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको हकप्रद शेयरका लागि आवेदन भर्ने समय आज सकिँदै छ । बैंकले भदौ ७ गतेदेखि हकप्रद निष्कासन गरेकोमा असोज ७ गतेबाट १५ दिन म्याद थपेको थियो ।
बैंकले साउन १५ गतेसम्म कायम शेयरधनीहरूका लागि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्कासन गरेको छ । प्रतिशेयर १ सय रुपैयाँको दरमा २ करोड ३३ लाख कित्ता हकप्रद निष्कासन गरिएको हो । हकप्रद आवेदनका लागि सनराइज क्यापिटल कमलपोखरी, बैंकको सम्पूर्ण शाखा कार्यालयहरू, आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट पाइने बताइएको छ ।
बैंकको हालको चुक्ता पूँजी ४ अर्ब ६७ करोड रहेकोमा हकप्रद शेयर वितरणपछि ७ अर्ब १ करोड रुपैयाँ पुग्नेछ । हकप्रद निष्कासनपछि बैंकले चुक्ता पूँजीको १४.०१ प्रतिशत बोनस शेयर दिने घोषणा गरिसकेको छ । बोनस शेयर जारी गरेसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ७० लाख रुपैयाँ पुग्नेछ ।