भारतको बथनाहादेखि नेपालको बुधनगरस्थित आईसीपीसम्मको रेलमार्ग छिट्टै परीक्षण हुँदै | आईसीपीदेखि कटहरीसम्मको १३ किलोमिटरमा जग्गा अधिग्रहण कार्य अझै सम्पन्न भएन

विराटनगर । विराटनगरको सीमावर्ती भारतीय रेल स्टेशन बथनाहादेखि बुधनगरस्थित आईसीपीसम्म निर्माण गरिएको रेलमार्गमा एक महिनाभित्र परीक्षण कार्य गरिने भएको छ । उक्त रेलमार्गको निर्माणको जिम्मा लिने लिएको इरकोन इण्टरनेशनलका अनुसार बथनाहादेखि आईसीपीसम्मको रेलमार्ग परीक्षण गर्न रेलको इञ्जिन कुदाइने भएको हो ।
विराटनगर– १८ स्थित बुधनगरमा रहेको आईसीपीमा निर्माण गरिएको यार्ड र स्टेशनको दूरी बथनाहादेखि ७ दशमलव ६ किलोमिटर छ ।
इरकोनले बथनाहादेखि मोरङको कटहरीसम्म १८ दशमलव १ किलोमिटरको क्षेत्रमा रेलमार्ग निर्माण गर्ने ठेक्का लिएको छ । ६ वर्षअघि ठेक्का पाएको इरकोनले आईसीपीबाट नेपालतर्फको अझै ३ किलोमिटर क्षेत्रमा पनि रेलमार्ग निर्माण गरिसकेको छ । निर्माण सकिएको क्षेत्रमा सिग्नल लाइट लगाउने काम जारी रहेको निर्माण कम्पनीले जानकारी दिएको छ ।
नेपालतर्फको बाँकी ८ किलोमिटर क्षेत्रमा ट्रयाक खोलिसकेको भए पनि मुआब्जा विवादले गर्दा निर्माणको काम रोकिएको हो । नेपालतर्फ बुधनगरको आईसीपीदेखि मोरङको कटहरीसम्म १३ किलोमिटर रेलमार्ग निर्माणका लागि सरकारले ५ सय ६५ जग्गा धनीबाट १ सय १९ बिघा जग्गा अधिग्रहण गरेको थियो । तर, ती जग्गाधनीमध्ये शेषनारायण माझी र घुरन माझीले मुआब्जा कम भएको भन्दै रेल विभाग र जिल्ला प्रशासन कार्यालय मोरङलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।
मुद्दाको किनारा अझै नलागेका कारण जमिन अधिग्रहण सम्पन्न हुन सकेको छैन । यसअघि प्रतिकट्ठा न्यूनतम ९० हजारदेखि २५ लाखसम्म मूल्यांकन गरेर ५३ करोड मुआब्जा बितरण गरिएको थियो । बुधनगरस्थित आईसीपीको छेउमा रेलवे स्टेशन र अन्य पूर्वाधार बनाउन ४२ बिघा जग्गा छुट्याइएको छ । निर्माण भइरहेको रेलवे स्टेशनमा यात्रु प्रतीक्षालय, कार्यालय भवन, कर्मचारी क्वार्टरलगायतका संरचना तयार गरिने निर्माण कम्पनीका जुनियर जनरल म्यानेजर प्रदीप कुमारले बताए ।