न्यूरोडको ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेला आयोजना हुँदै | मोबाइल खरिदमा ६० प्रतिशतसम्म छुट, स्मार्ट टेलिकमको सिम कार्डसमेत निःशुल्क

काठमाडौं । काठमाडौंको मुख्य व्यापारिक केन्द्र तथा मोबाइल व्यापारमा नेपालकै हब मानिएको पाको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सले दशैं मोबाइल मेला आयोजना गर्ने भएको छ । कम्प्लेक्सले नेपालीहरूको महान् चाड बडादशैंलाई लक्षित गरी मोबाइल मेला आयोजना गर्ने बताएको हो ।
मोबाइल व्यवसायीहरूको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा हुने उक्त मेला यही असोज २३ देखि ३१ गतेसम्म ९ दिन सञ्चालन हुने आयोजकले जानकारी गराएका छन् ।

मेलामा ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलहरूमा मोबाइल खरिद विक्रीमा ग्राहकहरूले न्यूनतम ४ देखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ । आयोजकका अनुसार मेला अवधिभर कुनै पनि मोबाइलको खरिदमा ग्राहकहरूले एउटा इनर्जी ड्रिङ्क प्राप्त गर्नेछन् । साथै, मोबाइल खरिदमा ग्राहकहरूले स्मार्ट टेलिकमको सिम कार्डसमेत निःशुल्क प्राप्त गर्नेछन् । निश्चित रकम ब्यालेन्ससहितको कार्ड एक्टिभेट गर्न भने आवश्यक प्रक्रियाहरू ग्राहकहरूले पूरा गर्नुपर्नेछ । यसका अलावा हरेक कम्पनीले आफ्नो प्रवद्र्धनमा राखेका विभिन्न स्किमहरू पनि ग्राहकहरूले साथमा नै प्राप्त गर्न सक्नेछन् ।
यस पटकको मेलाको अवसर पारेर मोबाइल व्यवसायी संघ, ताम्राकार कम्प्लेक्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवा गर्ने घोषणासमेत गरेको छ । उक्त घोषणाअनुसार मेलाको अवधिभर ताम्राकार कम्प्लेक्सबाट विक्री हुने प्रत्येक मोबाइलबाट रू. २०÷– संकलन गरेर चर्चित मिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भइरहेको कालिकोट जिल्लाको रास्कोट सामुदायिक अस्पताललाई सहयोगस्वरुप उपलब्ध गराइनेछ ।

मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले भने, ‘दशैं मोबाइल मेला ग्राहकहरूले फरक अनुभव गर्न पाउने र आफूले रोजेको मोबाइल सूपथ मूल्यमा किन्ने अवसर हो, ताम्राकार कम्प्लेक्स मोबाइल खरिदविक्रीका लागि मुख्य केन्द्र नै हो, हामीले ग्राहकहरूलाई दशैंको अवसर पारेर विभिन्न अफरहरूका साथमा सुपथ मूल्यमा फोनहरु विक्री गर्छौं ।’
नेपालकै चर्चित ताम्राकार कम्प्लेक्समा सञ्चालन हुने मेलामा भ्रमण गरी मोबाइल खरिद गरी मौकाको फाइदा उठाउन उनको अपिल छ ।