सिङ्गटी जलविद्युत आयोजनाको सुरुङको खन्ने काम सम्पन्न |

काठमाडौं । दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन सिङ्गटी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । २५ मेगावाट क्षमताको यस आयोजनाको शनिवर सुरुङ छेडिएको छ । आयोजनाको सुरुङ्गको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर छ ।
आयोजनाको हेडबक्स खण्डको माथिल्लो खण्डको सुरुङ खुलेको हो । सिभिल निर्माण शुरु गरेको छोटो समयमै राम्रो प्रगति गर्ने नेपालकै पहिलो जलविद्युत आयोजना भएको बताइएको छ ।
सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्ष अवधिमा आयोजनाको निर्माण अन्तिम चरणमा पुर्याएको छ । आयोजनाको समग्र प्रगति ८० प्रतिशत भएको छ । आयोजनाको बाँध क्षेत्रको काम अन्तिम चरणमा पुगेको हो ।
सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको आयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत उत्पादन गर्ने तालिका छ । केही ढिला हुँदा पनि जेठ असारदेखि उत्पादन शुरु हुने बताइएको छ ।
विद्युत्गृहमा १२.५ मेगावाट क्षमताका दुई युनिट राखेर विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको सिङ्गटी सवस्टेशनमा लगेर जोडिनेछ ।
चार अर्व ६३ करोड रूपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० बैंकले ३ अर्व ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । १६ मेगावाटमा निर्माण शुरु गरिएको आयोजना नौ मेगावाट क्षमता बढाएर २५ मेगावाट पुर्याइएको हो ।