तनहुँ जलविद्युत् आयोजनाको मुआब्जाप्रति प्रभावित स्थानीयको आपत्ति | हचुवाको भरमा मुआब्जा निर्धारण गरिएको स्थानीयको आरोप
तनहुँ । तनहुँ जिल्लामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाका प्रभावित स्थानीयवासीले आयोजनाले अधिग्रहण गर्ने थप जग्गाको मुआब्जाप्रति आपत्ति जनाएका छन् । आयोजनाको प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने व्यास नगरपालिका–५ बेतनीको जग्गाको मुआब्जाप्रति उनीहरूले आपत्ति जनाएका हुन् ।
आयोजना प्रभावित संघका तर्फबाट अध्यक्ष तेजराज थपलियाले विज्ञप्ति जारी गर्दै मुआब्जा निर्धारण समितिले गरेको निर्णय आफूहरुलाई मान्य नहुने जानकारी दिए । जिल्ला मुआब्जा निर्धारण समितिले जग्गाको प्रकृति हेरेर प्रतिरोपनी रू. साढे ९ लाखदेखि २० लाखसम्म मूल्य निर्धारण गरेको थियो । पहिरोमा परेको जग्गाका लागि प्रतिरोपनी रू. २ लाख ४० हजार निर्धारण भएको थियो ।
विज्ञप्तिमा परापूर्वकालदेखि चलिआएको १५ फुटे बाटोमा पर्ने घडेरीयुक्त जग्गाको वास्तविक मूल्य प्रतिआना झण्डै रू. १० लाख हुनुपर्नेमा मुआब्जा निर्धारण समितिले हचुवाको भरमा मूल्य निर्धारण गरेको उल्लेख छ । ६ वर्षअगाडि बाटो नै नभएको साविक काहुँशिवपुर गाविसमा परेको जग्गालाई आयोजनाले प्रतिआना रू. ३ लाखका दरले मुआब्जा दिएर अधिग्रहण गरेको तर अहिले आफूहरूको जग्गाको मुआब्जा भने एकदमै न्यून निर्धारण गरेको आरोप विज्ञप्तिमा लगाइएको छ ।
१ सय ४० मेगावाट क्षमताको उक्त आयोजनाका लागि व्यास नगरपालिका– ५ मा थप ५० रोपनी जग्गालाई रू. ८ करोड विनियोजन भएको छ ।