सांसद रौनियार पदबाट स्वतः निलम्बित | भ्रष्टाचार मुद्दामा पप्पु कन्स्ट्रक्सनका अध्यक्ष र रौनियारका छोरा सुमित पनि तानिए

काठमाडौं । संघीय समाजवादी फोरमबाट पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार सांसद पदबाट निलम्बनमा परेका छन् । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन् ।
उनी, पप्पु कन्स्ट्रक्सनका अध्यक्ष तथा सांसद रौनियारका छोरा सुमित, सडक डिभिजिन प्रमुखसहित १२ जनाविरुद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन २०४८ अनुसार भ्रष्टाचारको मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका व्यक्तिको पद स्वतः निलम्बन हुन्छ । रौनियार प्रतिनिधिसभाको निर्वाचनअघिसम्म पप्पु कन्स्ट्रक्सनका अध्यक्ष थिए । सांसदमा निर्वाचित भएसँगै उनले अध्यक्ष पद छाडी कन्स्ट्रक्सनको जिम्मेवारी छोरालाई दिएका हुन् ।