जापानले नेपाललाई ३० करोड ८० लाख अनुदान सहायता दिने |

काठमाडौं । जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि अनुदान सहयोग दिने भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको हो ।
नेपालका लागि जापानका राजदूत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
आज शुक्रबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच गरिएको समझदारी पत्रमा सो अनुदान सहायता नेपालको विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउने कार्यक्रममा खर्च गरिने उल्लेख गरिएको छ ।
कार्यक्रममा नेपालका लागि जापानका राजदूत सैंगोले नेपालको शैक्षिक क्षेत्रको विकास गरेर गरिबी निवारणको कार्यक्रमलाई प्रभावकारी बनाउन जापानले आर्थिक सहायता उपलब्ध गराएको बताए । जापानले नेपालको दिगो आर्थिक–सामाजिक विकासका लागि ‘जाइका’ मार्फत विभिन्न आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।