काठमाडौं महानगरपालिकाले लिने भयो सम्पूर्ण घर र नगरवासीको तथ्याङ्क |

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगरबासीहरु लाई प्रभावकारी रुपमा सेवा दिन सम्पूर्ण घर र नगरवासीको तथ्याङ्क लिने भएको छ । पानी, बिजुली, सुरक्षा, फोहरमैलाजस्ता सेवाको सहजताका लागि ३२ वटै वडाका नागरिकका साथै यहाँ बसोवास गर्ने नागरिकको पनि तथ्याङ्क लिइने महानगरका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।
तथ्याङ्क लिएपछि महानगरले प्रत्येक घरको विस्तृत विवरण सर्भरमा राखी सर्भर कोडको आधारमा सेवाग्राहीले खोजेको तीन÷चार मिनेटमै घरमै बसी सेवा लिन सक्नेछन् ।
काठमाडौँमा कति घर छन्, ती घरमा कति मानिस बस्छन र ती मानिसले के गर्छन, कुन–कुन बैङ्कमा खाता छ, त्यस घरको नागरिक विदेश गएका छन् कि छैनन् जस्ता सम्पूर्ण पक्षको जानकारी लिइनेछ । प्रत्येक घर कति जग्गामा बनेको छ, उक्त घरले विभिन्न शीर्षकमा महानगरमा वार्षिक कति कर तिर्नुपर्छ जस्ता विषयको पनि जानकारी लिइनेछ । कामपामा हाल दुई लाख ५६ हजार घर छन् ।