चोभारमा निर्माण हुने सुख्खा बन्दरगाहामा स्थानीयको अवरोध |

काठमाडौं । चोभार क्षेत्रका स्थानीय बासिन्दाले सुख्खा बन्दरगाहा निर्माणमा अवरोध गर्ने बताएका छन् । सरकारले आफ्ना माग पूरा नगरेसम्म सुख्खा बन्दरगाह बनाउने कार्यमा अवरोध गरिरहने अडान उनीहरुले लिएका छन् ।
सरकारले निर्माण ककार्य शुरु गर्नु अगाडि हिमाल सिमेन्ट कारखानाले स्थानीय समुदायलाई पुर्याएको क्षतिको उचित राहत दिइनुपर्ने, कारखानाको जग्गा स्थानीयलाई नै फिर्ता गरिनुपर्ने, कारखानाका कर्मचारीले अहिलेसम्मकै पारिश्रमिक पाउनुपर्नेलगायतका माग राखेका छन् ।
सरकारले चोभारस्थित हिमाल सिमेन्ट कारखानाको जग्गामा सुख्खा बन्दरगाह बनाउने निर्णय गरी काम अघि बढाउन निर्देशन दिएको थियो । सरकारको निर्णयसँगै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले उक्त कार्यका लागि ठेकेदार कम्पनी समेत छनौट गरी कार्यक्षेत्रमा खटाइएको थियो ।
११ दशमलब ७७ हेक्टर अर्थात २ सय ३२ रोपनीमा फैलिएको उक्त बन्दरगाह १८ महिनाभित्र सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी शाङछी र नेपाली कम्पनी आशिषको ज्वाइन्ट भेन्चरसँग सम्झौता समेत भएको छ । उक्त कार्यका लागि विश्व बैंकसँग २२ लाख अमेरिकी डलर ऋण लिने सहमति भइसकेको छ ।