आगामी आइतबारदेखि शेयर राफसाफ विद्युतीय प्रणालीबाट हुने |
काठमाडौं । अहिलेसम्म कागजी निर्देशन पुर्जीबाट सेयर राफसाफ हुँदै आएको छ । आगामी आइतबारदेखि केन्द्रीय निक्षेप प्रणाली (सिडीएससी) ले डिआईएससँगै ईडिआईएस कार्यान्वायनमा ल्याउन लागेको हो ।
सिडिएस एण्ड क्लियरिङ्गले असोज २१ गते आइतवारदेखि दोस्रो बजारमा कारोबार हुने धितोपत्रको राफसाफ विद्युतिय निर्देशन पुर्जी (ईडीआईएस) मार्फत गराउने प्रणालीको सुरुवात गर्न लागेको हो । यसका लागि लगानीकर्ताले मेरो शयेरको प्रयोग गर्नुपर्ने हुन्छ ।
यसैगरी सिडिएससीले लगानीकर्ता सप्ताहको अवसरमा कुनै पनि निक्षेप सदस्यकोबाट निशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाएको छ ।
आफूले विक्री गरेको धितोपत्रको कारोबार सम्बन्धि विवरण हेर्न र त्यसको राफसाफका लागि कारोबार सम्पन्न भएको दिनदेखि कारोबार भएपछिको दोस्रो दिन (टिं२) सम्मको समयावधि भित्र जुनसुकै बेला आफ्नो निक्षेप सदस्यलाई निर्देशन पुँर्जी जारी गर्न सकिने व्यवस्था गरिएको छ । ईडीआइएसको प्रयोगसंँगै लगानीकर्तालाई नेप्सेको पूर्ण स्वचालित कारोबार प्रणालीमा सेयर राफसाफमा सहज हुने विश्वास सिडिएससीले लिएको छ । कारोबार भएको सेयर राफसाफकै लागि लगानीकर्ताले डिआईएस स्लीप बुझाउन सेयर दलाल तथा निक्षेप सदस्यको कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए ।
यसका साथै कारोबार भएका शेयरको हकमा लाग्ने हस्तान्तरण शुल्क लगानीकर्ताले आफ्नो राफसाफ सदस्यलाई बुझाउन सकिने सिडिएससीले जानकारी दिएको छ ।