चिनी प्रतिकिलो ६३ रुपैयाँ भन्दा बढिमा बेच्न नदिन लेखा समितिको सरकारलाई निर्देशन |

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले प्रतिकेजी चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको छ । चिनीको बजार मूल्य प्रतिकेजी ६३ रुपैयाँ भन्दा बढी नहुने गरी व्यवसायी र सरकारबीच भएको सहमती कार्यान्वयन गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएका हो । चिनी उद्योगी र सरकारबिच गत भदौ ३१ गते चिनीको उद्योग मूल्य ५३ रुपैयाँ र उपभोक्ता मूल्य ६३ रुपैयाँ कायम गर्ने सहमति भएको थियो ।
बिहीबार बसेको बैठकले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । चाडपर्वका बेला चिनीलगायतका दैनिक उपभोग्य बस्तुको मूल्य बढाउने व्यापारीमाथि कडा कारबाही गर्न पनि सचेत गराइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।
बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिकेजी चिनीको मूल्य ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो । समितिले सरकारको सो निर्णयप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री केपी ओली र चिनी उद्योगीबीच केही समय अघि भएको सहमति अनुसार चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई कडा निर्देशन दिएको हो ।
उपसमिति गठन
लेखा समितिले चिनीको मूल्यवृद्धि भएकोमा अध्ययन गर्न नेकपाका सांसद लेखराज भट्टको संयोजकत्वमा ५ सदस्सीय उपसमिति गठन गरेको छ । समितिको सदस्यमा पार्वता डिसी चौधरी, चन्दा चौधरी, प्रदिप यादव र प्रेम आले रहेका छन्। ।
उपसमितिले ७ दिन भित्रमा मूल्य बढ्नुको कारणसहित प्रतिवेदन दिनेछ ।