बैंक तथा फाइनान्सलाई राष्ट्र बैंकको निक्षेप अफर |
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरूलाई निक्षेप लगानीको अफर गरेको छ । तोकिएका मापदण्ड पूरा गरेका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले हिजो बुधवार परिपत्र जारी गरी निक्षेप लगानीका लागि आह्वान गरेको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूका लागि १ अर्ब ११ करोड ३७ लाख, विकास बैंकका लागि २० करोड ८७ लाख र फाइनान्स कम्पनीका लागि ६ करोड १६ लाख रुपैयाँबराबरको निक्षेप लगानीका लागि अफर गरेको छ ।
निक्षेप लगानी गर्न चाहने बैंक तथा फाइनान्स कम्पनीहरूले आफ्नो संस्थाले लगानी गर्न चाहेको निक्षेप र दिन चाहेको ब्याजसमेत उल्लेख गरी भोलि शुुक्रवार अपराह्न १ बजेसम्म नेपाल राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा आवेदन दिनुुपर्नेछ । यसरी गरिने निक्षेप लगानीको अवधि भने एक वर्ष अर्थात् २०७५ कात्तिक ४ गतेदेखि २०७६ असोज ३० गतेसम्म रहनेछ ।
के के छन् मापदण्ड ?
निक्षेप लगानी गर्नका लागि लगानी गर्ने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुुनुुपर्नेछ । यसबाहेक न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुुनुुपर्नेलगायतका प्रावधानहरू तोकिएको छ ।