पुनर्बीमाको १ करोड ६० लाख कित्ता आईपीओ आउँदै, नाफा शेयर निष्कासनपछि वितरण गरिने |
काठमाठौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ६० करोड रुपैयाँबराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कास गर्न लागेको हो ।
कम्पनीले क्रेडिट रेटिङको काम सकेर यो वर्षभित्र आईपीओ निष्कासन गर्ने पुर्नबीमाका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बताए । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
पुनर्बीमामा सरकारको ४३.५५ प्रतिशत स्वामित्व अर्थात् २ अर्ब ७५ करोड १७ लाख रुपैयाँ लगानी रहेको छ । बीमा कम्पनीहरूले १ अर्ब २६ करोड रुपैयाँ भुत्तानी गरिसकेका छन् । बाँकी १ अर्ब ६० करोड रुपैयाँ सर्वसाधारणमा आईपीओ निष्कासन गरेर जुटाइने भएको छ ।
१० अर्ब रुपैयाँ कुल पूँजी रहेको पुनर्बीमामा सर्वसाधारणको १६ प्रतिशत स्वामित्व रहने गरी संरचना तयार पारिएको छ । कम्पनीले गत आवमा १ अर्ब रुपैयाँ नाफा गरेको छ । आईपीओ निष्कासनपछि मात्र उक्त नाफा वितरण गर्ने बताइएको छ ।