३३ किलोको अनुसन्धान गर्दै जाँदा ४ हजार किलो सुन तस्करी भएको पत्ता लाग्यो : गृहमन्त्री थापा |
चितवन । गृहमन्त्री रामबहादुर थापाले ३३ किलो सुन प्रकरणमा अनुसन्धान गर्दै जाँदा ४ हजार किलो सुनको तस्करी भएको पत्ता लागेको खुलासा गरेका छन् । प्रेस सेण्टर र प्रेस चौतारी चितवन शाखाले हिजो बुधवार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो खुलासा गरेका हुन् । उनले अपराध नियन्त्रणका लागि जनस्तरबाटै अभियान शुरू गर्ने बताए ।
उनले भने, ‘३३ किलो सुन मात्रै नभएर ४ हजार किलो सुन यो सरकार आउनुअघिदेखि तस्करी भइरहेको पत्ता लागेको छ । सुन तस्करीको सञ्जाल अब ध्वस्त भएको छ ।’ साना ठूला माछा जालमा आउन बाँकी रहेको र जबसम्म तिनीहरु कानूनको कठघरामा आउँदैनन्, तबसम्म अनुसन्धान चलिरहने उनको भनाइ थियो ।
घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरू गर्ने बताएका छन् । देशभरमा ३६ हजारभन्दा बढी विद्यालय र ७ हजारभन्दा बढी वडा कार्यालय रहेको भन्दै उनले विद्यालय र वडा कार्यालयको माध्यमबाट लाखौं युवा परिचालन गरेर घरेलु हिंसा नियन्त्रण अभियान सञ्चालन गरिने बताए । घरेलु हिंसाको मुख्य कारण मदिरा र लागूऔषध रहेको भन्दै उनले मदिराको नियमन, अनुगमन र नियन्त्रण गर्नुका साथै लागूऔषध उन्मूलन गर्नुपर्नेमा जोड दिए ।
उनले यो सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपाली अभियानअन्तर्गत महत्वपूर्ण काम भएको दाबी गरे । सरकार गठन अघि भएका चन्दा आतंक र विष्फोटका घटनामा कमी आएको भन्दै उनले एकाधिकार, भ्रष्टाचारजस्ता गतिविधि न्यून भएको बताए । उनले भने, ‘गुण्डा प्रायःजसो भूमिगत अवस्थामा छन्, तस्करी निस्तेज गरेर परिणाम राजस्वमा गुणात्मक रुपमा वृद्धि भएको छ ।’
गृहमन्त्री थापाले निर्मला पन्त प्रकरणमा सूक्ष्म ढंगबाट अनुसन्धान गरिरहेको भए पनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण भएको बताए । पन्तको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाइएको भन्दै गृहमन्त्री थापाले अपराधीलाई कानूनको कठघरामा ल्याउन गृह मन्त्रालय गम्भीर भएर अघि बढिरहेको जानकारी दिए ।
छानबिन टोलीले बुझाएको प्रतिवेदनको निष्र्कषको आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढाउने र अनुसन्धानलाई जारी राख्ने उनले बताए ।