मालपोत र नापीका कर्मचारीलाई कारबाही गरे पूरै कार्यालय नै खाली हुन्छ : अख्तियार प्रमुख | सेनालाई निर्माण आयोजना दिँदा सरकारले सोचोस्
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले मालपोत र नापीका कर्मचारीलाई कारबाही गर्दा पूरै कार्यालय नै खाली हुने बताएका छन् । उनले ती कार्यालयमा भ्रष्टाचार व्याप्त रहेको स्वीकार गर्दै त्यस्तो भनाइ राखेका हुन् ।
उनले भने, ‘काठमाडौंको गोठाटारमा रहेको ४० रोपनी जग्गा कर्मचारीले अभिलेखमा नराखी व्यक्तिका नाममा दर्ता गरिदिएका रहेका रहेछन्, त्यसमा ८० जनासम्म संलग्न छन् । सबैलाई एकैचोटि निलम्बन गरौं भन्दा कर्मचारी व्यवस्था गराइदिनुस् भन्ने कुरा आयो ।’ हिजो बुधवार राज्य व्यवस्था समितिमा उपस्थित प्रमुख आयुक्त घिमिरेले धादिङमा एउटै मुद्दामा ४७ जनाविरुद्ध मुद्दा चलाइएको बताए ।
भ्रष्टाचारको अनुसन्धान गर्दै जाँदा मालपोत र नापीमा कर्मचारी नै नरहने अवस्था आएको भन्दै उनले अख्तियार नागरिक समाज सबैका लागि चुनौती भएको बताए । नापी र मालपोतका कर्मचारीले सेवाग्राहीसँग सिधै घूस नलिएर नयाँनयाँ उपाय खोजेको उनले बताए ।
सेनालाई निर्माण आयोजना दिँदा सरकारले सोचोस्
अख्तियार प्रमुख घिमिरेले कुनै पनि आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिँदा सरकारलाई एक पटक सोच्न आग्रह गरेका छन् । उनले भने, ‘जाजरकोट दुलही सडक निर्माणका क्रममा निर्माण व्यवसायीहरूले ठूला ढुंगाहरू, चट्टानहरू फुटाउन सकेनन् । त्यस्ता कठिन कार्यमा आर्मीलाई प्रयोग गर्नु एउटा कुरा हो, तर अन्य तराईका क्षेत्रहरूमा आर्मी प्रयोग गर्नु उपयुक्त हो कि होइन ? एक पटक सरकारले सोचोस् ।’
विगतमा रक्षा सचिव र गृहसचिवको समेत जिम्मेवारी सम्हालिसकेका घिमिरेले नेपाली सेना अख्तियारको क्षेत्राधिकारभित्र नपर्ने, तर आफूहरू संवैधानिक दायरामा रहेको बताए । घिमिरेले अख्तियारले साना माछा मात्रै समात्यो र ठूला माछा हेरेन भन्ने आरोपको खण्डन गर्दै २ रुपैयाँ भ्रष्टाचार भएको भए पनि त्यसमा अख्तियारले नछोड्ने बताए ।
हाल भैरहवाको एउटा मुद्दामा डीआईजीले ३ करोड भ्रष्टाचार गरेको विषयमा अनुसन्धान भइरहेको उनले खुलाए । कुनै पनि मुद्दा दर्ता हुनेबित्तिकै नाम लिस्टसहित सार्वजनिक नगर्ने र व्यक्तिको सार्वजनिक प्रतिष्ठालाई अख्तियारले ख्याल गर्ने उनले बताए ।