९९ लट पुगेपछि मोटरसाइकलको दर्ता रोकियो | मन्त्रिपरिषद्को निर्णय पछि खुल्ने
काठमाडौं । बागमती अञ्चलमा नयाँ मोटरसाइकल दर्ता रोकिएको छ । ९९ लटसम्म वितरण भैसकेको र कानुनले नयाँ दर्ता गर्न नपाइने अवस्था आएपछि बाइक दर्ता रोक्नुपरेको यातायात व्यवस्था विभाग अन्तर्गतको मोटरसाइकल दर्ता कार्यालयले जानकारी दिएको छ । मंगलबारदेखि नयाँ दर्ता रोकिएको हो ।
यातायात व्यवस्थापन नियमावलीमा दुई अंकका नम्बर राखेर मात्रै नयाँ मोटरसाइक दर्तां गर्न मिल्ने प्रावधान छ । बागमतीमा बा ९९प मा ९९९९ सम्म मोटरसाइकल दर्ता भैसकेका कारण नयाँ दर्ता रोक्नुपरेको हो । योसँगै साविकको बागमती अञ्चलमा दर्ता हुने मोटरसाइकलको सख्या १० लाख पुगेको छ ।
यस्तो खालको समस्या आउन सक्छ भन्दै कार्यालयले दुई महिना पहिले नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई ब्रिफिङ गरेको थियो । नियमावली संशोधनको लागि मन्त्रिपरिषद पठाएको र त्यहाँबाट संशोधन पारित भएपछि ‘बा १०० प’ बाट दर्ता शुरु गरिने विभागले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली असोज ६ गते संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन गएपछि मन्त्रिपरिषद् बैठक बसेको छैन । प्रधानमन्त्री ओली बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।
इम्बोस्ड नं. प्लेट लागू भएको भए अहिले यस्तो कुनै समस्या पर्ने थिएन । तर इम्बोस्ड नं. प्लेटको सम्बन्धमा सर्र्वोचमा मुद्दा परेपछि चलनचल्तीमा रहेको नं. प्लेटमा रहेको अंक बढाउन नियमावली संशोधन गर्नुपरेको विभागले जानकारी दिएको छ ।