वर्ल्ड ट्रेड सेण्टरमा पाकिस्तानी मेला शुरू |
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेण्टरमा पाकिस्तानी मेला आजदेखि शुरू भएको छ । प्रदर्शनीको उद्घाटन नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेद र नेपाल–पाकिस्तान मैत्री संगठनका अध्यक्ष हिमालयशम्शेर जबराले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
पाकिस्तानको रावलपिण्डी उद्योग वाणिज्य संघले राजधानीस्थित पाकिस्तानी राजदूतावास र इस्लामावादमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा उक्त मेलाको आयोजना गरेको हो । विगत १० वर्षदेखि आयोजना हुँदै आएको यो मेलालाई यस पटक ‘मेड इन पाकिस्तान, सार्क एडिशन’ नाम दिइएको छ ।
सो अवसरमा राजदूत जावेदले भौगोलिक रूपमा पाकिस्तान र नेपाल टाढा रहे पनि दुई देशका उद्यमी–व्यापारी र नागरिकबीचको सम्पर्कले पारस्परिक सम्बन्धलाई सुदृढ तुल्याएको बताए ।
अध्यक्ष राणाले ६० वर्ष पुरानो नेपाल र पाकिस्तानबीचको सम्बन्ध पछिल्लो समयमा अझ प्रगाढ बनेको बताउँदै यस्ता व्यापार मेलाले एकआपसको सम्बन्ध अझ सुदृढ हुने बताए ।
मेलामा फर्निचर, छालाका सामान, हस्तकलाका सामग्री, लत्ता कपडा, नक्कली गरगहना सुपथ मूल्यमा विक्री हुने वाणिज्य संघका क्षेत्रीय अध्यक्ष खर्सिद बर्लासले बताए । मेला यही असोज २३ गतेसम्म सञ्चालन हुनेछ ।