यतीको ७२ सिटे जहाजले थाल्यो आजदेखि काठमाडौं–पोखरा–काठमाडौं उडान |

काठमाडौं । यती एयरलाइन्सले पछिल्लो पटक ल्याएको ७२ सिटे एटीआर ७२–५०० जहाजबाट बुधवारदेखि काठमाडौं–पोखरा–काठमाडौं उडान थालेको छ । यो जहाज यतीले हालै ल्याएको ठूलो आकारको जहाज हो ।
यतीका सञ्चार अधिकृत भीमराज आचार्यका अनुसार उक्त जहाजले बुधवारदेखि नै दैनिक दुईवटा उडान एटीआर ७२–५०० बाट गर्ने तालिका बनाएको छ । एयरलाइन्सले यात्रुको मागअनुसार उडान थप्दै जाने जानकारी दिएको छ ।
एटीआरबाहेक यतीले ३० सिट क्षमताको जेटस्ट्रिम ४१ जहाजबाट पनि अरु उडान गर्ने जनाएको छ । यतीले यतिबेला काठमाडौं–पोखरा–काठमाडौं रुटमा दैनिक १२ वटासम्म उडान तालिका बने पनि १० वटासम्म उडान नियमित रूपमा भइरहेको आचार्यले जानकारी दिए ।
७२ सिट भए पनि पोखरा विमानस्थलको धावनमार्ग कम भएकाले पूर्ण क्षमतामा भने यात्रु बोक्न सक्ने छैन । बढीमा ६० जना यात्रुहरु एउटा उडानबाट आउजाउ गर्ने गरी हालका लागि उडान गरिनेछ ।