साउदीले दियो २४ नेपालीको राहत र ब्लड मनी | रकम नेपाली दूतावासमार्फत परराष्ट्रको खातामा
काठमाडौं । रोजगारीको सिलसिलामा साउदी अरेबियाका विभिन्न कम्पनीमा काम गर्ने क्रममा विभिन्न कारणले मृत्यु भएका २४ नेपालीका परिवारले मृतकहरूले पाउन बाँकी तलब, भत्ता तथा ‘ब्लडमनी’ पाउने भएका छन् । रियादस्थित नेपाली दूतावासले नेपाली कामदारका परिवारले पाउनुपर्ने २ लाख ७१ हजार ८ सय ७ साउदी रियाल नेपाल पठाएको छ ।
मृतक नेपालीका हकवालाले पाउने गरी उनीहरूले काम गरेको अवधिको लिन बाँकी तलब, भत्ता तथा ‘ब्लड मनी’ परराष्ट्र मन्त्रालयको बैंक खातामा हस्तान्तरण गरिएको दूतावासले जानकारी दिएको छ ।
दूतावासका अनुसार सिरहाका अवधकिशोर यादव र राजकुमार मण्डल, बाराका अमिरी माझी, पाल्पाका भुवनसिंह दिसा, सप्तरीका विनोदकुमार मण्डल, अर्घाखाँचीका विष्णुबहादुर टण्डन, म्याग्दीका गणेशबहादुर घर्ती, महोत्तरीका गरहवा बतार, धनुषाका गुरुशरण ठाकुर, रामलखन मण्डल र रमेश कापरले पाउनुपर्ने रकम परराष्ट्र मन्त्रालयमा हस्तान्तरण गरिएको हो ।
त्यस्तै, दाङका जालुराम चौधरी, काभ्रेपलाञ्चोकका काजीबाबु थापा, भोजपुरका कुलबहादुर खत्री, लमजुङका मिलन तामाङ, सुनसरीका परमेश्वर मोची, धनकुटाका राजेन्द्र भुजेल, झापाका रूपेन मोक्तान तामाङ र सन्तोष परियार तथा मकवानपुरका सूर्यप्रसाद चौलागाईंको पनि राहत रकम हस्तान्तरण गरिएको छ ।
गुल्मीका हेमलाल पेमी, खोटाङका लेखराज राई, कास्कीका लुमनाथ अधिकारी र सिन्धुलीका प्रेमबहादुर पाख्रिनका परिवारले ब्लडमनीबापतको साउदी रियाल २० हजार पाउने दूतावासले बताएको छ । अर्घाखाँचीका टण्डनको छुट्टीमा रहँदा नेपालमा मृत्यु भए पनि सम्बन्धित कम्पनीबाट पाउनुपर्ने तलब, भत्ता हस्तान्तरण गरिएको छ ।