बन्दीपुर केबुलकारले स्थानीयवासीका लागि खुलायो शेयर, ५ लाखसम्म किन्न सकिने |
दमौली । बन्दीपुर केबुलकार कम्पनीले कम्पनी निर्माण हुने स्थान तनहुँको बन्दीपुर गाउँपालिकावासीका लागि शेयर खुल्ला गरेको छ । कम्पनीले पहिले घोषणा गरेअनुरुप बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि ११ लाख २० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
बन्दीपुरवासीले १ लाखदेखि ५ लाख रुपैयाँसम्मको शेयर खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । बन्दीपुर केबुलकार कम्पनी र आरकेडी रियलस्टेट कन्स्ट्रक्सनको लगानीमा निर्माण हुन लागेको उक्त केबुलकारको गत साउनमा शिलान्यास गरिएको थियो । हाल केबुलकार जडानको काम भइरहेको छ ।
स्थानीय जनताले केबुलकारलाई आफ्नै कम्पनी सम्झिऊन् र अपनत्व बढोस् भन्ने उद्देश्यले शेयर निष्कासन गर्न लागिएको कम्पनीले बताएको छ । बन्दीपुर आसपासका नागरिकलाई ७ हजार ५ सय तिरेपछि १० वर्षसम्म केबुलकारको सेवा प्रदान गरिने आरकेडी रियलस्टेटका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
पत्रकारिता क्षेत्रबाट केबुलकार प्रवद्र्धनमा सहयोग पुर्याउने ३ पत्रकार र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने एक समाजसेवीलाई प्रत्येक वर्ष ११ लाखको शेयरले सम्मान गरिने कम्पनीले बताएको छ ।
करीब ५६ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको केबुलकार १५ महीनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य कम्पनीले लिएको छ । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्दगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि उक्त केबुलकार आकर्षणको केन्द्रबिन्दु बन्ने बताइएको छ ।