आज रातिबाट डीभीको आवेदन खुल्दै |

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।
दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै शुल्क नलाग्ने प्रष्ट पारेको छ । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा धधध।मखयिततभचथ।कतबतभ।नयख मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडिभी) आवेदन फारम भर्नु पर्नेछ ।
आवेदन दर्ता गर्दा पति र पत्नी तथा आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ । तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ । जसअनुसार मुख्य आवेदकले अयोग्य पति र पत्नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अयोग्य ठहरिने दूताबासले जानकारी दिएको छ ।
कसरी भर्ने डीभी ?
अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । तपाईंले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।
डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा छनोट भए–नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।