माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता |
काठमाडौं । माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच आगामी एक वर्षका लागि विभिन्न तालीम कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एन.बी.आई.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताअनुसार एनबीआईले माछापुच्छ्रे बैंकका कर्मचारीहरूको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालीमहरू उपलब्ध गराउनेछ । बैंकमा हाल करिब ९ सय ९५ कर्मचारी रहेका छन् ।
बैंकले हाल देशभर रहेका ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरहरुलगायत २९ शाखारहित बैंकिङ सेवासमेत गरी १ सय १७ स्थानबाट वित्तीय सेवा प्रदान गरिरहेको छ । बैंकका देशभर ९९ वटा एटीएम सञ्चालनमा रहेका छन् ।