रोकिएन सुन तस्करी, बालाजुबाट फेरि ५ किलो सुनसहित एकजना पक्राउ |

काठमाडौं । ३३ किलो सुन प्रकरण सेलाउन नपाउँदै फेरि काठमाडौंको बालाजुबाट ५ किलो सुन बरामद भएको छ । सुनसहित एक व्यक्ति पनि पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरको टोलीले बालाजुको तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा सोमबार बेलुकी सो परिमाणको सुन बरामद गरेको प्रहरीले जानकारी दिएको छ । परिसरका डीएसपी होमेन्द्र बोगटीका अनुसार उक्त सुनसहित रसुवाका १८ वर्षीय सोबहादुर तामाङ पक्राउ परेका हुन् ।
उक्त सुन रसुवागढी नाकाबाट भित्र्याइएको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्ति भरिया मात्र रहेको र सुन धनी अर्कै व्यक्ति रहेको अनुमानमा प्रहरीले अनुसन्धान शुरू गरेको छ । प्रहरीले आजै उक्त व्यक्तिलाई सार्वजनिक गर्ने जानकारी दिएको छ ।
यसअघि ९ असोजमा रसुवाढी नाकाबाटै अवैध रूपमा भित्र्याइएको तीन किलो सुनसहित टोखाबाट दुई जना पक्राउ परेका थिए । सोमबार पनि त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक विडेश भुनियालाई २ सय ७ ग्राम अवैध सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।