आँखुखोला हाइड्रोले असोज २३ गते आईपिओ जारी गर्दै |
काठमाडौं । आँखु खोला हाइड्रोपावर कम्पनीले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि १३ करोड ७६ लाख दुई हजार रुपैयाँको साधारण शेयर (आईपिओ) विक्री खुला गर्ने भएको छ । कम्पनीले धादिङ्गका स्थानीय बासिन्दाका लागि निष्काशन भएको अवितरित शेयर समेत गरिसो रकमको आईपिओ जारी गर्न लागेको जानकारी दिएको छ ।
आँखु खोलाले निष्काशन गर्न लागेको कूल १३ लाख ७६ हजार २० कित्ता शेयरमध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर बाँकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता शेयरमा आम सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । यस कम्पनीको शेयर विक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।
यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आइपीओ विक्रीपछि चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।
धितोपत्र बोर्डबाट अनुमति पाउन पनि धेरै समय लगाएको आँखुखोला विभिन्न विवादमा पर्दै आएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पनि आँखुखोलाको आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ । कम्पनीले आँखुखोलाको पानीबाट ८.४ मेगावाट जलविद्युत उत्पादन गर्ने उदेश्य अनुरुप २०७० साल भदौ ८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको छ ।
कम्पनीको विद्युत उत्पादन केन्द्र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको छ । यस कम्पनीको रजिष्ट्रार कार्यालय भने काठमाडौं नक्सालमा छ । गत आर्थिक वर्षको अन्त्यसम्म यस कम्पनीले १ करोड ५४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७⁄७८ सम्म खुद नाफा ३ करोड ३६ लाख ५ हजार पुर्याउने प्रक्षेपण गरेको छ । यो अवधिमा प्रतिसेयर आम्दानी ४ रुपैयाँ २० पैसा पुर्याउने प्रक्षेपण छ ।