आयल निगमको घाटा बढेर १२९ करोड पुग्यो, १५ दिनमा मात्रै ६४ करोड ५७ लाख घाटा |

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएका कारण सरकारी स्वामित्वको नेपाल आयल निगम लिमिटेडको घाटा झन् बढ्दै गएको छ । उक्त घाटा बढेर अहिले १ अर्ब २९ करोड रुपैयाँ पुगेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताएका छन् ।
भारतीय आयल कर्पोरेशनले सोमवार पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै निगमलाई ६४ करोड ५७ लाख घाटा भएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ४५ पैसा, डिजेलमा ४ रुपैयाँ ४३ पैसा, खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिण्डर ४ सय ४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । नेपाल–भारत सीमाक्षेत्रमा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजेल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ ।
विश्वबजारमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ८३ डलर पुगेको छ । अमेरिकी डलर मजबुत हुन थालेपछि इन्धनको भाउ बढ्न थालेको हो ।