राष्ट्र बैंकको नाफा २८ अर्ब ५० करोड, नाफा बढे पनि सरकारलाई दिइने लाभांश रकममा गिरावट आउने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वर्ष झण्डै ९ अर्ब रुपैयाँ नाफा बढाउँदै साढे २८ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष राष्ट्र बैंकले १९ अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले विदेशमा गरेको लगानीलगायत विभिन्न शीषर्कबाट यो नाफा गरेको हो ।
राष्ट्र बैंकले अघिल्लो वर्षको नाफाबाट सरकारलाई साढे ७ अर्ब रुपैयाँ लाभांश बुझाएको थियो । यो वर्ष नाफा बढे पनि सरकारलाई दिने लाभांशमा भने गिरावट आउने राष्ट्र बैंक स्रोतले बताएको छ । ‘नाफा बढे पनि सरकारलाई कति बुझाउने भन्ने अझै निश्चित भएको छैन,’ स्रोतको भनाइ छ ।
गत आवमा गरेको नाफाबाट यो वर्ष पुनर्कर्जालाई थप रकम छुट्याउनुपरेकाले सरकारलाई दिने लाभांश रकममा कमी आउने भएको हो । चालू आवको बजेटमा सरकारले पुनर्कर्जा सीमा २० अर्बबाट बढाएर ३५ अर्ब रुपैयाँ पुर्याएको छ । पुनर्कर्जाका लागि थप रकम नाफाबाट व्यवस्थापन गर्न लागेको केन्द्रीय बैंक स्रोतले बतायो । थप १५ अर्ब रुपैयाँ दायित्वका अतिरिक्त जगेडा कोषलगायत अन्य थुप्रै कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ ।