पुरुष विदेशिएका कारण महिला श्रममा आवद्ध | ३४ लाख श्रममध्ये साढे १३ लाख श्रममा महिला
काठमाडौं । विगत एक दशकयता नेपाली महिलाहरू आयआर्जन पेशामा आवद्ध हुन थालेको कुरा एक प्रतिवेदनले औंल्याएको छ । ठूलो संख्यामा पुरुष विदेशिएका कारण परिवारको लालनपालन गर्न नेपाली महिलाहरू आयआर्जन पेशामा आवद्ध हुन थालेको उक्त प्रतिवेदनले प्रष्ट्याएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघले हालै ललितपुरमा आयोजना गरेको ‘महिला उद्यमी राष्ट्रिय कार्यशाला गोष्ठी तथा कर्पोरेट नाइट’मा तथ्यांक विभागद्वारा सार्वजनिक राष्ट्रिय आर्थिक गणना २०७५ मा सो कुरा औंल्याइएको हो ।
राष्ट्रिय आर्थिक गणना २०७५ मा मुलकभर ९ लाख २२ हजार ४ सय व्यवसाय सञ्चालनमा रहेको र सोमा करिब ३४ लाख श्रममध्ये महिलाको संख्या १३ लाख ६३ हजार अर्थात् ४० प्रतिशत हिस्सा महिलाहरूको रहेको तथ्यांक छ ।
सरकारी, निजी र बैंकिङ क्षेत्रका तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको उक्त कार्यक्रममा सहभागीहरूले मुलुकभित्र महिला उद्यमशीलता प्रवद्र्धनका लागि व्यवसाय सम्बद्ध नीति, कानुन र नियमनको वातावरण हुनुपर्नेमा जोड दिएका छन् ।
उद्यमी मैत्री प्रशासन, व्यवसाय प्रवद्र्धन र सम्बद्र्धनमा सहयोगी वातावरण, पूँजीमा पहुँच र सुलभता तथा न्यूनतम आधारभूत पूर्वाधार आवश्यक रहेको पनि उनीहरूले बताएका छन् ।
महिला उद्यमीको स्थलगत सहभागिताको स्थिति हेर्दा २०÷२५ नगर र शहरी क्षेत्रहरू र व्यापारिक केन्द्रहरूमा उपभोक्ता मागमा केन्द्रित केही लघु, घरेलु र साना उद्योगस्तरमा व्यवसायहरू संचालनमा रहेको तथ्यांक प्रस्तुत गरियो । खासगरी महिला संलग्न व्यवसायमा कम लगानी, सीमित उत्पादन र व्यापार रहेको पनि विज्ञहरूबाट प्रस्तुत कार्यपत्रमा औल्याइएको थियो ।
अन्य अधिकांश क्षेत्रहरूमा महिला उद्यमीहरूको सहभागिता स्थानीय कृषि, खनिज र वनस्पति कच्चा पदार्थमा आधारित लघु र घरेलु उद्योग वर्गीकरणका प्रायः फुर्सदको समयमा गर्ने गतिविधि जीविकोपार्जन स्तरको रूपमा रहेको समेत कार्यक्रममा जानकारी दिइयो । औद्योगिक नीति, औद्योगिक व्यवसाय ऐन, आर्थिक ऐन र वार्षिक कार्यक्रमहरूमा प्रवद्र्धन पक्षमा विशेष जोड दिए पनि उपलब्धि भने अपेक्षाकृत हासिल हुन नसकेको गुनासो विज्ञहरूले गरेका छन् ।
उनीहरूका अनुसार महिला उद्यमशीलता विकासमा मूलतः सीमित जानकारीका कारण प्रतिस्पर्धात्मक क्षमताको कमी र आत्मविश्वासको कमी, सामाजिक संस्कारका कारण निजी जिम्मेवारी निभाउने क्रममा व्यवसायमा केन्द्रित हुन नसक्ने, परम्परागत संस्कारको कारण गतिशीलता र जोखिमी उठाउने मनोभावनाको कमी, अधिकांशमा सृजनात्मक र सोचको साटो देखासिकी गरी व्यवसाय शुरू गर्ने चलन, अधिकांशको अचल सम्पत्तिमा स्वामित्व नहुदा व्यवसाय शुरू गर्न पूँजी जुटाउन कठिनाइ, बैंक वित्तीय संस्थाबाट कर्जा र वैकल्पिक लगानी, पूजी स्रोत उपलब्ध गर्न जानकारीको अभाव र पहुँचमा कठिनाइजस्ता समस्याहरू रहेका छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थम माया थापाले उक्त कार्यक्रमको उद्घाटन गर्दै देशमा लामो समयसम्म राजनीतिक अस्थिरता र अन्योलको वातावरण भएकाले उद्योग व्यवसाय क्षेत्र धराशयी भएको प्रष्ट पारिन् । अब देशमा स्थिरता आएको र विभिन्न ऐन, कानूनहरूको निर्माण भई अनुकूल वातावरण बन्दै गएकाले उद्यमी व्यवसायीले आ–आफ्ना स्थानबाट सीप, क्षमता एवम् दक्षताको उपयोग गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारको उद्देश्यलाई सफल पार्न सहयोग गर्न आग्रह गरिन् ।
कार्यक्रममा नेपालका ७७ वटै जिल्लाका महिला उद्यमीहरूको प्रतिनिधित्व रहेको थियो ।