ग्लोबल आईएमई बैंक र पाटन प्याथल्याबबीच सम्झौता |
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र पाटन प्याथल्याब प्रालिबीच सेवा सुविधामा छुट सम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा पाटन प्याथल्याबको तर्फबाट अध्यक्ष रेशम भट्टराई र बैंकको तर्फबाट कार्ड विक्री तथा बजार व्यवस्थापन विभाग प्रमुख रवीन्द्र ढकालले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब उक्त बैंकका ग्राहकहरूले सो ल्याबले प्रदान गर्ने विभिन्न सेवा, स्वास्थ्य परीक्षण तथा अन्य सुविधाहरूमा ३५ प्रतिशतसम्म छुट पाउने बताइएको छ । बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य परीक्षण गराउन र ती सेवा छुट उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता गरेको बताएको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाका अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरू ल्याइरहेको छ ।
बैंकका अनुसार पाटन प्याथल्याबमा परीक्षण गराउँदा ग्लोबल आईएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीले ल्याबले प्रदानगर्ने सेवामा उक्त छुट पाउनेछन् ।
बैंकले हाल देशभर रहेका १ सय ३२ शाखा, १ सय ३८ एटीएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजस्व संकलन काउण्टर, १ सय ३ शाखारहित बैंकिङ सेवा र देशबाहिर ३ प्रतिनिधि सम्र्पक कार्यालयमार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकलाई आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको छ ।