नेपाल प्रहरीमा एकैपटक सात हजार पदपूर्ति हुँदै, सबै पदमा आवेदन माग |

काठमाडौं । नेपाल प्रहरीले एकै पटक सात हजार २७६ जनशक्ति पदपूर्तिकालागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले संघीयता मोडलमा आफ्नो कर्मचारीलाई खटाउनका लागि पनि नयाँ भर्ना आवहान गरेको हो ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदहरुमा सोमबार भर्ना आह्वान गरेको हो । प्रहरीले सूचना जारी गर्दै असोज १८ गतेदेखि कात्तिक २९ गतेसम्म आवेदन फाराम भर्न सकिने जानकारी दिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा सातै प्रदेशको प्रदेश कार्यालयमा पनि फाराम बुझाउन सकिनेछ ।
सूचना अनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा १ सय ८ जनाको पदपूर्ति हुँदैछ । जसमा खुला ५८, अमर अशक्त प्रहरी परिवारलाई २ जनाको कोटा छुट्याइएको छ । समावेशीतर्फ महिला ९, आदिवासी जनजाति १५, मधेसी १४, दलित ७ र पिछडिएको क्षेत्र ३ जनाको कोटा रहेको छ ।
यस्तै, प्रहरी सहायक निरीक्षक (असई) मा ५ सय २४ जनाका लागि आवेदन माग भएको छ । जसमा खुला २ सय ८३ र अमर अशक्त प्रहरी परिवारका लागि १० जनाको कोटा निर्धारण गरिएको छ । समावेशी समूह अन्तर्गत महिला ४६, आदिवासी जनजाति ७४, मधेसी ६४, दलित ३५, र पिछडिएको क्षेत्रका लागि १२ जनाको कोटा निर्धारण गरिएको छ ।
यस्तै, जवानतर्फ ६ हजार २ सय ४४ जनाका लागि आवेदन माग गरिएको छ । जसमा खुलातर्फ तीन हजार ३ सय ६५ कोटा निर्धारण गरिएको छ । सहयोगीतर्फ ४ सय जनाका लागि आवेदन माग भएको छ । जसमा भान्छे, हजाम, कुचीकार, खेलाडी लगायतका छन्। ।
प्रहरी निरीक्षकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण हुनु पर्नेछ । यस्तै, सहायक निरीक्षकको हकमा प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ ।
उमेर हद प्रहरी निरीक्षकको हकमा २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ । सहायक निरीक्षकको हकमा २० वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनु पर्नेछ । आन्तरिक प्रतिस्पर्धीका हकमा ३५ वर्षसम्म मान्य हुनेछ ।