इण्डोनेसियामा शक्तिशाली भूकम्प, झण्डै ४ सयको मृत्यु |
पालु । इण्डोनेशियाको सुलावेसी क्षेत्रमा हिजो शुक्रवार आएको शक्तिशाली भूकम्पका कारण मर्नेको संख्या अझै बढ्दै गएको छ । ७.५ माग्निच्युटको उक्त भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै ४ पुगेको बताइएको छ । भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरूको संख्या बढिरहेको अधिकारीहरूले आज जानकारी दिएका छन् ।
भूकम्पपछि शक्तिशाली सुनामी पनि आउँदा ३ सय ८४ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापनसम्बन्धी कार्यालयका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीका अनुसार घाइतेहरूको उद्धार गरी अस्पताल लैजाने क्रम अझै जारी छ । भूकम्पनपछि सुनामी आएपछि मानिसहरू आत्तिएर चिच्याइरहेका र भागिरहेका थिए । एउटा मस्जिदमा पनि क्षति पुगेको बताइएको छ । अस्पताल, होटल र पसललगायतका हजारौं घरहरू भत्किएका छन् ।
यस क्षेत्रमा अहिले विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएका छन् भने, पहिरोका कारण कतिपय मुख्य बाटोहरू पनि अवरुद्ध भएका छन् ।भूकम्पपछि अहिलेसम्म पनि त्यहा पराकम्पनले निरन्तर धक्का दिइरहेको र सुलावेसी टापु हुँदै पालु शहर आएको सुनामीको छाल तीन मिटरसम्म अग्लो रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरू पनि गरिरहेका छन् । एएफपी