चङ्गा उडाउँदा करेण्ट लागेर एक बालकको मृत्यु |

कास्की । कतै तपाईंका छोराछोरी पनि चङ्गा उडाउन त गएका छैनन् ? होस् गर्नुस् है । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ मा हिजो शुक्रवार साँझ चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका छोरा राकेश पुनको चङ्गा उडाउने क्रममा ज्यान गएको हो ।
१२ वर्षीय राकेशको विद्युत्को पोलमा अड्किएको चङ्गा निकाल्ने क्रममा करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिए । चङ्गा उडाएर खेलिरहेका राकेश विद्युत्को पोलमा चङ्गा अड्किएपछि निकाल्न पोलमा चढ्नेबित्तिकै नाङ्गो तारमा अड्किएको प्रहरीले बताएको छ ।
प्रहरकिा अनुसार पोखराबाट प्रहरी र विद्युत् प्राधिकरणको प्राविधिकसहितको टोली पुगेपछि मात्र बिजुलीको नाङ्गो तारमा अड्किएका राकेशलाई बाहिर निकालिएको थियो । मृतक बालकको शव पोष्टमार्टमका लागि अहिले पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।