नेपाल–मलेशिया श्रम वार्ता सम्झौताको नजिक | अबदेखि कामदारको भिसा खर्च रोजगारदाताले बेहोर्ने
काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालीहरुको मुख्य गन्तव्य बनेको मलेशियासँग नेपालले लामो समयपछि श्रम सम्झौता गर्ने भएको छ । हिजो बिहीवार मलेशिया गएको नेपाली टोलीले नेपाल र मलेशियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटाएको छ ।
दुवै पक्षबीचको वार्तामा मलेशियन सरकारका उच्च अधिकारीहरुले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेशियन रोजगारदाताले व्यहोर्नेमा सहमति जनाएका छन् ।
नेपाली राजदूत कुमारराज खरेलले भने, ‘वार्ता उत्साहजनक रूपमा सफल भयो । कामदारको हकहित र सुरक्षाका विषयमा दुवै देशका चासो सम्बोधन भएका छन् ।’
उनका अनुसार दुवै पक्षले आन्तरिक प्रक्रिया पूरा गरेर छिट्टै श्रम सम्झौता गर्ने सहमति भएको छ ।