तिहारपछि मात्रै आउने भयो शिवम् सिमेन्टको आइपीओ |
काठमाडौं । शिवम् सिमेन्टको आइपीओ तिहारपछि मात्रै आउने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि गत साउन १३ गतेदेखि भदौ ११ गतेसम्म ८ लाख ८० हजार कित्ता आइपीओ विक्री खुला गरेको थियो । त्यसबेला स्थानीयले सबै सेयर किनेका थिएनन् । अब स्थानीयले नकिनेका सेयर समेत थपेर शिवमले सर्वसाधारणमा आइपीओ विक्री खुला गर्नेछ ।
शिवमले सर्वसाधारणका लागि आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । तर स्थानीयमा सेयर जारी गरेको समय लामो भइसकेकाले सर्वसाधारणमा सेयर ल्याउन फेरि धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत गराउनुपर्ने भएको छ । धितोपत्र बोर्डले विवरणपत्र स्वीकृत गरेपछि मात्र आइपीओ खुला गरिनेछ । शिवम् सिमेन्ट कम्पनी स्रोतका अनुसार अहिलेको तयारी अनुसार तिहारपछि मात्र आइपीओ आउने देखिन्छ ।
अबको केही दिनमै धितोपत्र बोर्डमा विवरणपत्र पेश गरिनेछ । त्यसमा धितोपत्र बोर्डले अध्ययन गर्नेछ । बोर्डले अध्ययन गर्न कति समय लगाउँछ त्यसै आधारमा आइपीओ जारी हुने मिति यकिन हुनेछ । कम्पनी सम्बद्ध अधिकारीका अनुसार अहिलेको तयारी अनुसार तिहारपछि मात्रै आइपीओ आउने देखिन्छ ।
नेपाली पैसाबाट