सिन्धु विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं (आपास) । सिन्धु विकास बैंक लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्वन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले शुक्रवार हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब सिन्धु विकास बैंकका सम्पूर्ण ग्राहकहरूले नेपाल लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमासम्बन्धी बीमा लेखहरू लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानीलगायतका सम्पूर्ण सेवा उक्त बैंकका सबै शाखा कार्यालयहरूबाट पाउन सक्ने बैंकले बताएको छ ।
बैंक ५ जिल्ला कार्यक्षेत्र बनाउन नेपाल राष्ट्र बैंकको अनुमतिलाई कुरेर बसेको उक्त बैंकको हाल निक्षेप संकलन सवा २ अर्ब छ भने कर्जा १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । शाखा विस्तार, लगानीलगायतमा राष्ट्र बैंकको नीति निर्देशनभित्र रहेर कार्य गर्दै आएको यस बैंकले दुर्गम भेगमा वित्तीय साक्षरता, बैंकिङ पहुँचलगायत क्षेत्रमा ठूलो योगदान पुर्याएको छ ।