नेपाललाई कोरियाको रू. ५५ करोड अनुदान | सबै रकम प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालीममा खर्च गरिने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रू. ५५ करोड अनुदान आउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा अर्थ मन्त्रालयमा बुधवार आयोजित कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव राजन खनालले हस्ताक्षर गरेका हुन् ।
कोरिया सरकारले शिक्षा क्षेत्रको विकासका लागि उक्त रकमबराबरको सहयोग गर्ने भएको हो । अनुदानस्वरुप प्राप्त हुने उक्त रकम प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तरका साथै प्राविधिक संस्था र तिनका प्रशिक्षकहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नमा खर्च हुने मन्त्रालयले जानकारी दिएको छ ।
सो अवसरमार राजदूत पार्कले नेपालको प्राविधिक जनशक्तिलाई थप सशक्त तुल्याउन आफ्नो देशको सरकारबाट सहयोग प्रदान गरिएको बताए । उनले सो सहयोगले दुई देशबीचको पारस्परिक सम्बन्ध अझ सुदृढ हुने उल्लेख गरे ।
सचिव खनालले सन् १९७६ देखि कोरियाले नेपालको आर्थिक–सामाजिक विकासमा सहयोग गर्दै आएको चर्चा गर्दै सन् २०१० यता उक्त सहायतामा उल्लेख्य वृद्धि भई कोरियाले नेपाललाई ‘प्राथमिकता प्राप्त’ मुलुकको सूचीमा समावेश गरेकोमा हार्दिक आभार प्रकट गरे ।