तामाको मूर्ति सफा कसरी गर्ने ? |

अन्य धातुको तुलनामा तामाको मुर्ती सफा गर्न कठिन हुन्छ । यस्ता मूर्तिमा चमक ल्याउन विभिन्न विषयमा ध्यान दिनुपर्छ । नियमित वा चाडपर्वका बेला पूजा गर्न तामाका मूर्तिको प्रयोग गरिन्छ । राम्ररी सफा गरिएका तामाका मूर्ति विशेष आकर्षक देखिन्छन् । यस्ता मूर्ति सफा गर्ने तरीका धेरै छन् । यदि मूर्तिमा खिया लागेको अथवा कालो दाग लागेको छ भने यसलाई प्राकृतिक वस्तुको प्रयोग गरेर सफा गर्न सकिन्छ ।

सरल घरेलु विधिबाटै तामाको मूर्तिको राम्रो सफाइ हुन्छ । निकै पुराना वा खिया लागेका मूर्ति तामाको हो वा होइन चिन्न मुश्किल पर्छ । यस्तो अवस्थामा उक्त मूर्ति केबाट बनेको हो, राम्ररी पहिचान गर्नुपर्छ । अन्य धातको भएमा तामाको मूर्ति सफा गर्ने वस्तुले प्रतिकूल असर पनि पार्न सक्छ, जसका कारण मूर्तिको चमक घट्ने तथा अन्य विभिन्न समस्या देखिन सक्छ ।
तामाको मूर्ति सफा गर्दा नरम कपडाको प्रयोग गर्नुपर्छ । धातुमा कडा कपडा प्रयोग गर्दा घर्षणले दाग लाग्न तथा कोरिन सक्छ । अलि गाढा दाग देखापरेमा नरम तार भएको टूथब्रस प्रयोग गरी सफा गर्र्न सकिन्छ । त्यसैगरी तामाका भाँडा नियमित रूपले सफा पानीले सफा गर्नुपर्छ । मूर्तिलाई पुछपाछ गरेर राख्नाले धूलो जम्दैन र त्यसको चमक रहिरहन्छ ।

विशेषज्ञका अनुसार तामाका मूर्ति सफा गर्दा सकेसम्म बजारमा उपलब्ध पोलिसको प्रयोग गर्नु हँुदैन । अत्यधिक पोलिसको प्रयोगले मूर्तिको प्राकृतिक चमक हराउन सक्छ । तामाको मूर्ति पखालेपछि त्यसलाई राम्रोसँग सुकाउन अत्यन्त जरुरी छ ।