चिया उद्योगका समस्या र चुनौती खोजी गर्न उच्चस्तरीय कार्यदल |

काठमाडौं । सरकारले चिया उद्योग क्षेत्रको अध्ययन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा उच्चस्तरीय कार्यदल गठन गरेको छ । चिया क्षेत्रको समग्र विकास, समष्टिगत समस्या र चुनौतीहरूको खोजी गरी तिनलाई सम्बोधन गर्न उक्त उच्चस्तरीय कार्यदल गठन गरिएको बताइएको छ ।
कार्यदलमा चिया उद्योगसँग सम्बद्ध संघीय मन्त्रालय र प्रदेश नं १ का सामाजिक विकास मन्त्रालय, ट्रेड युनियन, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चिया उत्पादक संघका प्रतिनिधिसहित चिया क्षेत्रका विज्ञहरू सदस्य रहेका छन् ।
कार्यदलले चिया उद्योगलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्न विद्यमान कानूनी, संस्थागत तथा व्यावहारिक समस्या र चिया व्यवसायी तथा श्रमिकको चासो र सरोकारलाई समेत ध्यान दिई आगामी दिनमा सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत सुधार समेटेर प्रतिवेदन पेश गर्ने बताइएको छ ।
साथै उक्त कार्यदलले आवश्यकताअनुसार कार्य समूह गठन गर्न सक्ने र उक्त कार्य समूहमा चिया क्षेत्रमा कार्यरत ट्रेड युनियनका प्रतिनिधिहरू सहभागी हुन सक्ने बताइएको छ । मन्त्रालयले उक्त कार्यदललाई दुई महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी समयसीमा तोकेको छ ।
मन्त्रालयले कार्यदल गठनपछि चिया क्षेत्रमा देखा परेका द्विविधा तथा अन्योल समाधान हुने बताउँदै तत्काल देखिएका समस्याको समाधान वार्ता तथा छलफलको माध्यमबाट खोज्नसमेत सम्बद्ध सबै पक्षलाई आह्वान गरेको छ ।