नेपाली चलचित्र छक्कापञ्जा–३ घटस्थापनाको दिनबाट प्रदर्शनमा आउदै |
काठमाडौँ । कलाकार तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्माण समूहले चलचित्रको झलक (ट्रेलर) र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको हो ।
असोज २४ गते घटस्थापनाबाट ‘छक्कापञ्जा ३’ र असोज ३० गते फूलपातीबाट ‘जय भोले’ प्रदर्शन गर्ने गरी सहमति जुटेको मुख्य कलाकार दीपकराज गिरीले बताए । यसअघि यी दुई चलचित्र एकैसाथ प्रदर्शनमा आउने भनेर प्रचार भएको थियो । आज सार्वजनिक भएको चलचित्रको झलकमा हाँस्यव्यङ्ग्यसँगै सामाजिक तथा शैक्षिक विषयवस्तु देखाइएको छ ।
चलचित्रले स्कूल शिक्षा र विद्यालयमा हुने विकृति विसङ्गतिका विषयसमेत उठान गरेको छ । यस्तै विद्यालयमा हुने राजनीतिलाई समेत उठान गरिएको छ । ‘छक्कापञ्जा ३’ को यसअघि सार्वजनिक ‘पहिलो नम्बरमा’ र ‘पछि उमेर ढल्किन्छ’ बोलको गीतलाई दर्शकले मन पराएका छन् ।
निर्देशक निरौलाले अघिल्ला चलचित्रको ट्रेलरमा विषयवस्तु सस्पेन्स राखिने गरेकोमा यसपालि भने विषवस्तु खुलाइएको जानकारी दिइन । ‘छक्कापञ्जा–३’ मा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, लक्ष्मी गिरीलगायतको अभिनय छ । चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठको संवाद छ । अर्जुन पोखरेल र दीपक शर्माले सङ्गीत दिएका छन् ।
उक्त चलचित्र आमा सरस्वती मुभिज प्रालि तथा आइएमइको प्रस्तुतिमा निर्माण भएको भएको हो । जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माताको रूपमा छन् । कलाकार किरण केसी, सुमन गिरी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाईं, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता छन् ।,