कालीगण्डकी आयोजनाको बृहत् मर्मतकार्य शुरू | निर्माणकै समयमा आयोजना नै डुबानमा पार्नेसम्मको गम्भीर त्रुटि
काठमाडौं । कालीगण्डकी जलविद्युत् आयोजनाका ४८४८ मेगावाटका तीनवटै युनिटको उत्पादन रोकेर बृहत् मर्मत कार्य शुरू भएको छ । प्राधिरकणले हिउँदमा मर्मत गर्दा लोडसेडिङको खतरा हुने भएकाले यो सिजन पारेर मर्मत थालेको हो ।
आइतवारबाट शुरू भएको मर्मतको कामको अवलोकन गर्न नेपाल विद्युत् प्राधिकरणका सञ्चालकहरूसँगै कार्यकारी निर्देशक कुलमान घिसिङसमेत आयोजनास्थलमै छन् । १४४ मेगावाटको उक्त आयोजनाका दुईवटा युनिट अबको दुई दिनपछि सञ्चालनमा आउने तथा १ र ३ युनिटको मर्मत ५ दिनमै सकिने प्राधिकरणले जानकारी दिएको छ । तर युनिट २ को मर्मत सक्न झण्डै एक महिना लाग्ने प्राधिकरणले जानकारी दिएको छ । आयोजना निर्माणकै क्रममा युनिट २ मा गम्भीर त्रुटि भएको पाइएपछि यसपटक युनिट २ को बृहत् मर्मत सम्भार गर्न लागिएको घिसिङले बताए ।
आयोजना निर्माण गर्ने जापानिज कम्पनी तोसिबाले उक्त युनिटको निःशुल्क मर्मत गर्ने प्रतिवद्धता जनाएको थियो । आगामी असोज १४ गते तोसिबासँगको सम्झौताको म्याद सकिने भएकाले त्यसअगावै सो युनिटका विशेष मर्मत थालिएको हो । अहिले प्रायः सबै आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न सकिने भएकाले कालिगण्डकीबाट उत्पादन रोकेर मर्मत थालिएको हो ।
तीनवटै युनिट दशैंको समयमा बन्द गरिनेछ । त्यतिबेला औद्योगिक कलकारखानामा बिजुलीको खपत कम हुने भएकाले माग धान्न पनि सजिलो हुने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका एक अधिकारीले भने, ‘युनिट २ मा देखिएको समस्या गम्भीर थियो । भल्बबाट पानी चुहिने समस्यालाई हामीले पेपर लगाएर टाल्दै थियौं । यसरी आयोजना चलाउँदा जतिबेला पनि गम्भीर दुर्घटनाको खतरा हुन्थ्यो, यसले आयोजना नै डुबानमा पार्नेसम्मको खतरा नम्तिन सक्थ्यो ।’
मर्मतको कामको अवलोकन गर्न घिसिङसहित सञ्चालकहरू चन्द्र टण्डन, उमेश थानी, चेतराज जोशी, भक्तबहादुर पुन आयोजनास्थलमा पुगेका छन् । आयोजनास्थलमा पुगेका घिसिङले आयोजना बन्द हुँदा दैनिक साढे ३ करोड घाटा लागिरहेको भन्दै जतिसक्दो छिटो काम सकाउन निर्देशन दिए ।