निर्मला हत्या प्रकरण : उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन गृहमन्त्रीलाई | दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : गृहमन्त्री

काठमाडौं । कञ्चनपुरको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको छानबिन गर्न गठित उच्चस्तरीय समितिले गृहमन्त्रीलाई आफ्नो प्रतिवेदन सोमवार बुझाएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई उक्त प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै गहमन्त्री थापाले सो घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने स्पष्ट पारेका छन् ।
समितिले यसअघि भदौ ३० गते गृहमन्त्रीसमक्ष बुझाएको प्रारम्भिक प्रतिवेदनमा प्रहरीको भूमिका कमजोर एवम् शंकास्पद रहेको भेटिएपछि गृह मन्त्रालयले अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेको थियो । हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मीलाई अनुसन्धानको दायरामा ल्याउन निलम्बन गरिएको थियो । निलम्बनमा प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी, अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी परेका थिए ।
समितिले बुझाएको पछिल्लो प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको छ ।
गृह मन्त्रालयले उक्त प्रकरणका लागि अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शंकास्पद देखिएकाको जनाउँदै करिब १ महिनापछि भदौ ७ गते गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा तीनवटै सुरक्षा निकायका प्रहरी नायव महानिरीक्षक, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश ७ को प्रतिनिधिसमेत गरी ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।