हरेक नेपालीलाई शेयरधनी बनाइने | ३५०० मेगावाटका आयोजना सरकारले निर्माण गरी शेयर जारी गर्ने
काठमाडौं । सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत आयोजनाको शेयरधनी बनाउने लक्ष्यका काम अगाडि बढाएको छ । यसका लागि सरकार आफैले ३ हजार ५ सय मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको हो ।
‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको माध्यम बनाउने सरकारको लक्ष्य छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उच्च प्रतिफल दिने र आकर्षक आयोजनाको छनोट कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
सबैलाई लगानी गर्न दिने वातावरण बनाउँदा आयोजना निर्माणमा समेत अपनत्व हुने र काम गर्न सहज हुने सरकारको बुझाइ छ ।
पछिल्ला दिनमा निजी क्षेत्रका जलविद्युत आयोजनाले समेत स्थानीयवासीलाई १० प्रतिशत र आम सर्वसाधारणलाई १५ प्रतिशत शेयर दिँदै आएका छन् । सो व्यवस्थाका कारण जलविद्युत आयोजना निर्माण भएका जिल्ला तथा स्थानीय निकायमा आर्थिक उपार्जनको थप माध्यमसमेत बन्न पुगेको छ ।
“हामीले एकदमै प्रतिफल दिने र आकर्षक र छिट्टै सम्पन्न गर्न सकिने केही आयोजनाको सूची बनाएका छौँ, त्यसमा नेपाली नागरिकको कम्तीमा ४९ प्रतिशत शेयर रहनेछ । त्यसबाट सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प समेत पूरा गर्न सहज हुनेछ” मन्त्री पुनले भने ।
करिब चार हजार मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेकाले आगामी तीन वर्षभित्र तीन हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य पूरा हुने देखिएको छ ।
सरकारले बनाउने आयोजना
सरकारले पहिलो चरणमा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी, करीब १०० मेगावाटको तामाकोशी पाँचौ र ४८ मेगावाट क्षमताको भेरी बबइ डाइभर्सन आयोजनामा नागरिकलाई लगानीका लागि आह्वान गर्ने तयारी गरेको छ ।
सरकारले एक सय ११ मेगावाट क्षमताको रसुवागढी, १०१ मेगावाट क्षमताको मध्य भोटेकोशी र साञ्जेनका दुई आयोजना क्रमशः ४२.५ र १४.८ मेगावाट क्षमताका आयोजना छन् । ती आयोजनाले साधारण शेयर समेत बिक्री गर्ने तयारी गरेका छन् ।