आयल निगमले तेल ढुवानी आफैं गर्ने |

काठमाडौँ । नेपाल आयल निगम आफैँले पेट्रोलियम पदार्थ ढुवानी गर्नका लागि तयारी थालेको छ । यसको सम्भावना बारे अध्ययन गर्न निगमलेकोसमिति गठन गरेको छ । निगम सञ्चालक समितिले वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र निगमका प्रवक्ता वीरेन्द्र गोइत सदस्य छन्। ।
समितिले इन्धन ढुवानीमा निजी क्षेत्रका एकाधिकार अन्त्य गर्न आफैँले ट्याङ्कर सञ्चालन गर्न उपयुक्त हुने वा नहुने बारेमा पनि अध्ययन गर्नेछ । हाल निगमसँग इन्धन ढुवानी गर्ने ट्याङ्कर छैन । निजी क्षेत्रका ट्याङ्करले नै इन्धन ढुवानी गर्दै आएका छन्। । समितिले निगम आफैँले ट्याङ्कर सञ्चालन गर्न आवश्यकपर्ने प्राविधिक विषयवस्तुका सम्बन्धमा विस्तृत अध्ययन गर्ने निगमका प्रवक्ता गोइतले जानकारी दिएका छन् ।
निगमको स्वामित्वमा इन्धन ढुवानी गर्ने ट्याङ्कर नहुँदा निजी क्षेत्रका ट्याङ्कर चालकले विभिन्न माग राख्दै पटकपटक इन्धन ढुवानीमा अवरोध गर्दै आएका छन्। । निगमले ट्याङ्कर चालकको माग पूरा गरे पनि केही दिनअघि पुनः विभिन्न माग राख्दै इन्धन ढुवानीमा अवरोध गर्दा पेट्रोलियम पदार्थको वितरणमा असहज अवस्था सिर्जना भएको थियो ।