यौनजन्य सामग्री भोलिदेखि नै प्रतिबन्धित, हेर्ने र हेराउनेलाई ५ लाखसम्म जरीवाना |
काठमाडौं । नेपाल सरकारले यौनजन्य सामग्रीहरूको आदानप्रदान, प्रकाशन र प्रसारणमाथि प्रतिबन्ध लगाएको छ । यौनजन्य सामग्री उपलब्ध गराउने त्यस्ता सबै साइट (कम्पनी) हरूमाथि भोलि मंगलवारदेखि नै लागू हुने गरी प्रतिबन्ध लगाएको हो ।
सञ्चार मन्त्रालयले गत शुक्रवार जारी गरेको निर्देशनअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले इण्टरनेट सेवा प्रदायक कम्पनीलाई भोलिदेखि नै लागू हुने गरी यो निर्देशन जारी गरेको हो । निर्देशन पाएपछि प्राधिकरणले नेटवर्क सेवा प्रदायक र इण्टरनेट सेवा प्रदायक कम्पनीलाई त्यस्ता साइटहरू बन्द गर्न निर्देशनसमेत दिइसकेको छ ।
कम्पनीहरूले तत्कालै साइट बन्द गर्नुपर्ने अन्यथा दूरसञ्चार ऐन २०५३ अनुसार त्यस्ता सामग्री हेर्ने र उपलब्ध गराउने सेवा प्रदायक दुवैलाई ५ लाख रुपैयाँसम्म जरीवाना गर्ने र सेवा प्रदायकको अनुमतिपत्र रद्द गरिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । उनका अनुसार हाल नेपालमा त्यस्ता सेवा प्रदायक कम्पनी ७० वटा रहेको जानकारी दिए ।
सरकारले नेपालमा इण्टरनेटको माध्यमबाट यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल मान्यता र सद्भावमा खलल पुग्नुका साथै यौनजन्य हिंसा र विकृति सिर्जना हुने भएकाले प्राधिकरणले त्यस्ता वेबसाइट बन्द गर्न इण्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।