घर जाने होइन ? अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्ला, तर १० प्रतिशत भाडा थपियो |
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोलि मंगलवारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । सरकारले १० प्रतिशत भाडा बढाउने निर्णय गरेपछि हिजो सोमवार बसेको महासंघको बैठकले टिकट खोल्ने निर्णय गरेको हो ।
महासंघका महासचिव सरोज सिटौलाले सरकारले भाडा समायोजनको पत्र पठाएकाले टिकट बुकिङ खोल्ने निर्णय गरिएको बताए । उनले भने, ‘यातायात व्यवस्था विभागबाट हामीले भाडा समायोजनको औपचारिक पत्र पाइसकेकाले भोलिबाटै अग्रिम टिकट बुकिङ खुल्ला गरेका हौं ।’
यसअघि भदौ ३१ गते बसेको बैठकले सरकार र यातायात व्यवसायीका बीचमा असोज ५ गते नै बुकिङ खोल्ने सहमति भएको थियो । तर, सरकारले पेट्रोलियमम पदार्थमा मूल्यवृद्धि गरेपछि व्यवसायीहरूले बुकिङ खोल्न मानेका थिएनन् । एकै वर्ष दुई पटक भाडा बढाउने सहमति भएपछि मात्र व्यवसायीहरूले अग्रिम बुकिङ खुल्ला गरेका छन् ।
महासंघले देशभर अग्रिम टिकट बुकिङ खुल्ला गर्न पत्राचारसमेत गरिसकेको जानकारी दिएको छ । महासंघका सचिव सरोज सिटौलाका अनुसार सवारीको अभाव भएमा उपत्यकामा रहेका सवारीसमेत प्रयोग गरिनेछ ।