तान्जानियाँको फेरी दुर्घटनामा मर्नेको संख्या २ सय २४ पुग्यो | अब कोही पनि जीवित पाइने आशा झिनो रहेको सरकारकारी भनाइ
काठमाडौं । तान्जानियाको फेरी दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय २४ पुगेको तान्जानियाको प्रहरीले जनाएको छ । त्यहाँका यातायातमन्त्री आइज्याक कामवेलेले तान्जिानियाँको लेक भिक्टोरियामा शुक्रवार भएको उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय २४ पुगेको र अब कोही जीवित पाइने आशा झिनो रहेको आज बताए ।
उद्धार कार्य लगभग अन्तिम चरणमा पुगेकाले आज मृतकका आफन्तहरुलाइृ शव हस्तान्तरण गरिएको छ । तान्जानिया सरकारले आइतवार एक दिन शोकको घोषणा गरेको छ । पहिचान भएका १० जनाको शवलाई सामुद्रिक किनारामा सामूहिक रूपमा अन्तिम संस्कारपछि शोकको घोषणा भएको हो ।
फेरीको भारवहन क्षमताभन्दा दोब्बर भएकाले नै दुर्घटना भएको बताइएको छ । यहाँको प्रशासनले फेरी कम्पनीसँग आवद्ध केही व्यक्तिलाई पक्राउ गर्न निर्देशन दिएको छ ।