सार्वजनिक भयो दोस्रो थोक मूल्य सर्वेक्षण |

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘दोस्रो थोक मूल्य सर्वेक्षण प्रतिवेदन’ सार्वजनिक गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा आइतबार राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नयाँ प्रतिवेदन सार्वजनिक गरेका हुन् । सोहि कार्यक्रममा सङ्घीय संरचनामा लघुविद्युत सेवाको पहुँच तथा संरचनासम्बन्धी अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।
नयाँ परिवेश अनुसार होलसेल मूल्य सर्वेक्षण विधि र प्रक्रियामा केही परिमार्जन गरिएको छ । प्रतिवेदन सार्वजनिक गर्दै गभर्नर नेपालले आर्थिक वर्ष २०७४–०७५ लाई आधार वर्ष बनाएर नयाँ प्रतिवेदन सार्वजनिक गरिएको बताएका छन् ।
संयुक्त राष्ट्र संघले आधार मानेको मोडल अनुसार होलसेल मूल्य सूचक (इन्डेक्स) तयार पारिएको नेपालले जानकारी दिए । यस्तो रिपोर्ट यसअघि पहिलो पटक आव २०५६–०५७ मा सार्वजनिक भएको थियो । यो दोस्रो हो । उपभोग शैलीमा नै परिवर्तन आएको छ । आर्थिक क्रियाकलाप बढेको छ । यसआधारमा केही नयाँ सूत्रका आधारमा दोस्रो थोक मूल्य सर्वेक्षण सार्वजनिक गरिएको गभर्नरले बताए ।
आर्थिक वर्ष २०७४−०७५ लाई आधार वर्ष बनाएर गरिएको यसपटकको सर्वेक्षणमा १ हजार २ सय ११ वटा वस्तु निर्धारण गरिएको थियो । यसबाट २ सय ६२ वस्तु सर्वेक्षणमा समावेश देशका विभिन्न २४ स्थानलाई आधार मानेर गरिएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए ।
अघिल्लो सर्वेक्षणमा ७२ वटा मात्र वस्तु छनोट गरी थोक मूल्य सर्वेक्षण गरिएको थियो । यसपटक सर्वेक्षणको क्षेत्रमा वस्तुका आकार बढेकाले नेपालमा धेरै वस्तुको आकार फरक पर्न सक्ने राष्ट्र बैंक गभर्नर ड. नेपालले बताए ।
हरेका नेपालीले उपयोग गर्ने वस्तुको विस्तृत विवरण यस सर्वेक्षणमा आएकाले नेपालीको जीवन शैलीका बारेमा समेत यस सर्वेक्षणबाट थाहा हुने गभर्नर डा. नेपालले जानकारी दिए ।