इन्धनमा लगाइएको कोटा प्रणाली हट्यो, अब चाहेजति पेट्रोल पाइने |
काठमाडौं । नेपाल आयल निगमले असोज ५ गतेदेखि इन्धन वितरणमा लागू गरेको कोटा प्रणाली हटाएको छ । चालकहरुले आन्दोलन फिर्ता लिएपछि निगमले आइतवारबाट कोटा प्रणाली हटाएको हो ।
निगमले मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर र हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल दिनेगरी कोटा निर्धारण गरेको थियो । त्यस्तै, डिजेलबाट चल्ने छोटा दूरीका सवारीसाधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म मात्रै डिजेल उपलब्ध गराइएको थियो ।
कोटा प्रणाली हटेसँगै आजबाट उपभोक्ताले मागेजति तेल पाउने नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । उनले भने, ‘इन्धन आपूर्ति सहज हुँदै गएकाले कोटा प्रणाली हटाएर मागेजति तेल दिन हामीले पेट्रोल पम्पहरूलाई भनिसकेका छौं ।’